महानगरमा हुर्किरहेको प्रेम, धोका र सपनाको कथा, हेर्नुस् युट्युबमा

महानगरमा हुर्किरहेको प्रेम, धोका र सपनाको कथा, हेर्नुस् युट्युबमा

रंजित (केके मेनन) र शिखा (शिल्पा सेट्टी) दम्पती हुन्, तर एकअर्कासँग खुसी छैनन्। रंजित आफ्नो कार्यालयकी युवती नेहा (कंगना रनावत) सँग शारीरिक रूपमा नजिक छन्।

नेहाको पनि रंजितसँग सम्बन्ध गाँस्ने आफ्नै स्वार्थ छ। नेहाप्रति त्यही कार्यालयका अर्का कर्मचारी राहुल (शरमन जोशी) आकर्षित छन्। शिखाको जीवनमा ठोक्किने आकाश (शाइनी आहुजा) पनि पत्नीसँग छुट्टिएको पात्र हो।

यही सहरमा आफूलाई माया गर्ने मान्छे खोजिरहेकी श्रुति (कोनकोना सेन शर्मा), जसलाई मन पराउने कोही भेटिएकै छैन। उनको जीवनमा इन्टरनेट मार्फत् मोन्टी भेटिए पनि उनलाई मन पर्दैन। फिल्ममा मोन्टीको भूमिकामा इरफान खान छन्।

फिल्ममा चालीस वर्षपछि पनि आफ्नी पहिलो प्रेमिका भुल्न नसकेर अमेरिकाबाट भारत आउने वृद्ध पात्रदेखि तन्नेरी युवाका प्रेमका अनेक रङ देख्न पाइन्छ। फिल्मको पहिलो दृश्यमै निर्देशकले दर्शकलाई आफ्ना पात्रहरूबारे संकेत दिन्छन्।

पात्रका आधा-अधुरा सम्बन्ध निर्देशक अनुराग बासुले कुशलताका साथ बुनेका छन्। महानगरको भिडमा भौतिक र मानसिक खुसी खोज्दै भौंतारिने पात्रहरूको जेलिएको सम्बन्धको कथा भन्ने ‘लाइफ इन अ मेट्रो’ ले संगीत, स्क्रिनप्ले र कलाकारको अभिनयका कारण त्यो वर्षकै राम्रो फिल्ममा दर्ज भएको थियो। यो फिल्म सन् २००७ मा रिलिज भएको थियो।

फिल्मको संगीत श्रोताको मन छुने खालको छ। प्रीतमको संगीत संयोजनले सहरी जीवनका भावनात्मक आरोह-अवरोहलाई गहिरो रूपमा प्रस्तुत गरेको छ।

मोन्टी र श्रुतिको भूमिकाका लागि इरफान र कोनकोनाले दुवैले सहायक अभिनेता र सहायक अभिनेत्रीको फिल्मफेयर लगायत अन्य अवार्ड जितेका थिए।

यो फिल्मले दर्जनभन्दा बढी अवार्ड जितेको थियो भने चार दर्जनभन्दा बढी अवार्डमा मनोनीत भएको थियो।

आगामी जुलाइमा यसको सिक्वेलका रूपमा ‘मेट्रो इन दिनो’ रिलिज हुँदैछ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *