प्रधानमन्त्री कप क्रिकेटको सेमिफाईनल समिकरण पुरा

काठमाडौं, २३ जेठ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन बिभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाए।
टियु क्रिकेटम मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले हराउँदै नेपाल पुलिस समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुग्यो। पराजयका बाबजुद प्रदेश ५ पनि सेमिफाइनलमा पुगेको छ। समूह ए बाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन्।
शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरुमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ए को उपविजेता एपीएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ।
बुधबार टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०० रनको मध्यम योगफल बनाएको थियो। उसका लागि शंकर रानाले ४४, शौरभ खनालले ४२ ,राजबीर सिंहले २१ र सन्दीप सुनारले २० रन बनाए। त्यस्तै कृष्ण कार्कीले २६ रन बनाए। बलिङतर्फ पुलिसका ललित राजबंशीले २ बिकेट लिए।
२०१ रनको लक्ष्य पुलिसले दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। सुस्त सुरुआत गरेको पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १०४ रनको अविजित शतकीय साझेदारी गरेपछि सहज जित हासिल गरेको हो। ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाउँदा शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडे।
यसअघि ओपनरहरु सुनील धमला र अमित श्रेष्ठले क्रमसः ३६ र ३० रन जोडेर आउट भएका थिए। त्यस्तै दिलिप नाथले पनि २४ रनको पारी खेले। बलिङतर्फ प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिए। दिपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए।