स्थलगत अध्ययनपछि बेनी-जोमसोम सडकको घुमाउरो सिण्डीकेट खारेज कोरलासम्मको ११० किमि सडकलाई ११ मिटर फराकिलो बनाउने गरी स्तरोन्नतिको काम जारी

म्याग्दी, २४ जेठ – म्याग्दीको सदरमुकाम बेनीदेखि जोमसोम सडकमा कायम रहँदै आएको सिण्डीकेट खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बिहान बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम सिण्डीकेट खारेज गर्दै नयाँ व्यवस्था लागू गरेको छ ।
विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारी साधनको रुट इजाजत प्रदान गर्न देशभरका यातायात ब्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ लिलाधर अधिकारीले बताए । २०७१ वैशाख ८ गते तत्कालीन यातायात ब्यवस्थापन समिति धौलागिरिको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउँदै २६ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तीर्थयात्रीहरु आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात ब्यवसायीको गाडी चढेर जान बाध्य थिए ।
यस्तो ब्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डीकेटधारी स्थानीय यातायात ब्यवसायीलाई सहयोग पुगेको थियो । “बेनी-जोमसोम सडकमा २६ सिटे मापदण्डका आधारमा घुमाउरो तरिकाले गरिँदै आएको सिण्डीकेट प्रथा तोडिएको छ,” प्रजिअ अधिकारीले भने, “देशभरका यातायात ब्यवस्था कार्यालयमा निर्णयअनुसारको रुट इजाजत दिनका लागि पत्राचार गर्छौ ।”
नयाँ निर्णयअनुसार २७ फिटसम्म लम्बाइ भएका (दुई सापटे) ३२ सिट क्षमता भएका बस सञ्चालन गर्न सकिने म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रालिका सञ्चालक सुरज केसीले बताए । यो सडकमा हाल जलविद्युत् र सडक आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्ने ठूला ट्रक सञ्चालन भइरहेका छन् ।
स्तरोन्नति भइरहेको सडकको पुरानो अवस्थालाई आधार मानेर यात्रुबाहक सवारीमा मात्र मापदण्ड लागू गर्दा दुःख पाएको र स्थानीय यातायात ब्यवसायीको सिण्डीकेट प्रथालाई सहयोग पुगेको सर्वसाधारणको गुनासो थियो । बेनी-जोमसोम-कोरला सडक आयोजनाले बेनीदेखि जोमसोम हुदै कोरलासम्मको ११० किमि सडकलाई कम्तीमा ११ मिटर फराकिलो बनाउने गरी स्तरोन्नतिको काम भइरहेको छ । २६ सिटभन्दा बढी क्षमताको सवारी सञ्चालनको सम्भाव्यत्ता अध्ययन गर्नका लागि जेठ १५ गते सहायक प्रजिअ शोभाखर पोखरेलको संयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको थियो ।
डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सरोज ढकाल, जिल्ला प्राविधिक कार्यालयका सबइन्जिनियर चन्द्रबहादुर पुन, ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठक र म्याग्दी कोरला ट्राभल्सका सञ्चालक केसी सदस्य रहेको टोलीले सडकको स्थलगत अध्ययन गरेर १८ गते प्रतिवेदन बुझाएको थियो ।
टोलीको प्रतिवेदनको आधारमा २६ सिटको मापदण्ड खारेज गर्नुका साथै विभिन्न ठाउँमा सडक सुधार गर्न बेनी जोमसोम कोरला सडक आयोजनालाई आग्रह गरेको छ । गलेश्वर बेलीब्रिज अगाडि, तिल्किनी, चमेरे, महभीर, दोवाको मोटरेबल पुल, सुकेबगर, जलथले, अन्धगल्छी, बादरजुङ भीर र बेगखोला क्षेत्रमा सडक फराकिलो बनाउन, ग्रेड मिलाउन र मर्मतको काम तत्काल गर्न आयोजनालाई पत्राचार गरिएको प्रजिअ अधिकारीले बताए ।