मन्त्री पदबाट शेरबहादुर तामाङकाे राजीनामा

साउन ८ काठमाडौं, कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आज पदबाट राजीनामा दिनुभएको छ । आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेपछि मन्त्री तामाङले पदबाट राजीनामा दिनुभएको हो ।

मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर मन्त्री तामाङले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सघाउन र सरकारलाई सफल बनाउन नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताउनुभयो । तामाङले एक सार्वजनिक कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दबाबमा परेपछि उहाँले राजीनामा दिनु भएको हो । उहाँले आफू पद भन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र सरकारलाई सफल बनाउन र निजी स्वार्थ बोकेकाहरुलाई परास्त गर्न, म मेरो पद भन्दापनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ ।’  पत्रकार सम्मेलनमा उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राहरु हिंसामा परेको सुनेपछि आफ्रै स्तब्ध भई बोल्ने क्रममा सो अभिव्यक्ति आएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने हाम्रा केही छोरीहरु हिंसामा परेको सुनेपछि म आफ्रै स्तब्ध भई बोल्ने क्रममा सो कुरा बोलेको हुँ ।’ उहाँले बंगलादेशमा नेपाली छात्रा हिंसामा परेको थाहा पाएर आफूले बोलेको कुरालाई बंग्याएर प्रचार गरिएको गुनासो गर्नुभयो । आफ्नो भनाईलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरिएको समेत उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हिंसा भएको छैन भनेर हामीले कसरी समाधान गर्न सक्छौं रु प्रश्न उठेको हो । मैले भनेको विषयलाई लिएर बोलेका पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर अतिरञ्जित गरी सम्प्रेषण गरिएको पाउँदा अति दुखित छु ।’  उहाँले आफू महिला अधिकार र अस्मिताको लागि सदैव लड्दै आएको भन्दै आफ्नो अभिव्यक्तिलाई विवादमा तानिएको आरोप लगाउनुभयो । आफू विरुद्ध षड्यन्त्र भएको उहाँको भनाई थियो ।

नेपाली नारी प्रति आफ्नो सम्मान रहेको भन्दै उहाँले कुनै पनि महिला हिंसामा नपरून भन्ने आफ्नो चाहाना रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘म आफै महिला प्रति अतिसंवेदनशील व्यक्ति हुँ । महिला मलाई जन्म दिने आमा हो । मेरो जीवन साथी हो र हामीले जन्माएका छोरीहरु हुन् । म सचेत छु, छोरी मेरो जीवनको गर्व हो, छोरी मेरो सन्तान हो । छोरी मेरो भविष्य पनि हो । छोरीको अधिकार र अस्मिताको लागि म लड्दै आएको व्यक्ति हुँ । यसको निमित्त म खुल्ला कागज हुँ । मलाई पढे हुन्छ, मेरो परिवार बुझे हुन्छ । छोरीको अंश र वंश, आमाको नामबाट नागरिकता लिने विषयमा म आफ्नो ठाउँबाट लड्दै आएको व्यक्ति हुँ ।’ पत्रकार सम्मेलनमा पत्नी उषाकला राईसँगै उपस्थित हुनु भएका मन्त्री तामाङले महिलाहरुको हक अधिकारका लागि काम गरेको र गर्दै आएको भन्दै आफूलाई त्यही बिषयले लखेटेको बताउनुभयो । भावुक मुद्रामा उपस्थित मन्त्री तामाङले पत्रकार सम्मेलनकै क्रममा आँखाबाट आँशु खसाल्दै सानो कमजोरीलाई दुष्प्रचार गरिएको गुनासो गर्नुभएको थियो ।