अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

टावरमा कसले के प्रयोजनका लागि आगजनीी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो । टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ । आगजनी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ । रासस