बिर्सिएका पृथ्वीनारायण ( लघु कथा )

दिउँसो ११:३० बजे तिर पुगेको थिए म । तामझामका साथ बाजा बजे पनि बाजामा मलिनता प्रस्टै झल्किन्थ्यो । उमेरले ५० नाँघेका, नेपाली पोशाक र खुकुरी क्रसको बिल्ला भएको कालो टोपी अनि छाती भरी तक्मा भिरेका मान्छेहरु अलि धेरै देखिन्थे । कम उमेरकाको उपस्थिति कमै थियो । प्रायले सानो स्वरमा जयजयकार गाएको सुनिन्थ्यो उनै पृथ्वीनारायण शाहको ।

मेरो सानै छँदाको त्यो कलिलो दिमागले पृथ्वीनारायण शाहलाई राम्ररी पढेको थियो । लाग्थ्यो देश त उनैले पो जन्माएका रहेछन । उनैको कारणले पो हामी नेपाली भएका रहेछौ । बडो श्रद्धा लाग्थ्यो । सानैमा परेको त्यो गढिलो छाप मेरो दिमागमा अझै छ र अझै पनि लाग्छ कि उनलाई हामीले राष्ट्रपिता मान्नै पर्छ अनि सम्झनामा कुनै कसर बाँकी राख्नु हुन्न भनेर ।

म बडो उत्सुकताका साथ त्यहाँ छिरें । भित्तामा एउटा निकै पुरानो फोटो अनि नेपालको झन्डा पनि सँगसँगै देखें । गर्वले छाती फुल्यो तर उपस्थिति धेरै कमि अनि कमजोर त्यतिकै पाएँ । उपस्थिति मध्यबाट पनि थोरैले मात्र राष्ट्रपिता भनेर गुनगान गाइरहेका थिए र बाँकी ठिङ्ग उभिएका थिए । लाग्थ्यो कुनै चिजको प्रतीक्षा गरिरहेका मनमनै अहिलेको वर्तमान देश अनि नयाँ पिढिले झन्झन् बिर्सदै गएको बारे सम्झिए र बडो आदरका साथ उनिप्रति श्रद्धासुमन गरें अनि मन गर्हुङ्गो बनाएर फर्किए ।

अलि तल आइपुगेको थिए । केही जोडीहरु हातमा मोबाइल अनि सेल्फिमा मस्त रहेको भेटें ।
त्यतिकैमा एक युवाले सोध्यो,
दाइ ! त्यहाँ मान्छेहरू किन जम्मा भएका रहेछन?

एउटा जिम्मेवार युवाको पौष २७ को त्यो प्रश्न सुनेर म झन् गम्भीर भए अनि केही नबोली आफ्नो बाटो लागें।
२७,पौष २०७५