चारु, कथा संग्रहमा समाहित

 

क्षणिक आक्रोश

कथाकार ः–सुशीला देउजा

 

श्रावण२७, काठमाण्डौ, छहारी

विवाह पश्चात यति लामो अन्तरालमा पनि उनीमा नारीसुलभ,लज्जा, संकोच र अलि अ िलभय विद्यमान छ । उनी लज्जा र संकोचको पर्दा उघारी अझै बाहिर निक्लन सकेकी छैनन् । दमित इच्छा, दमित चाहना र कमी कमजोरी श्रमिान्सामु खुलस्त व्यक्त गर्न सक्दिनन् । उनी आफ्ना पीडाहरु मनमै गुम्स्याएर भित्रभित्रै भुट्भुटिँदै छट्पटिन्छिन ।

आज पनि उनी दिनभर मनमा अनेक कुरा खेलाउँदै बेचैन भइन् । उनको मनमा ठुलो भावानात्मक युद्ध संग्राम चल्दै थियो । मनमा अनगिन्ती प्रश्नहरु उठिरहेका थिए तर उनीसंग तिनको कुनै जवाफ थिएन । आफूउपर गौर गर्र्दै सोचिन्—कहीं मबाट अनजानमा कुनै अप्रिय गल्ती त भएन ? कतै मैले उनको मन त दुःखाइनँ ? कुनै चोट पु¥याउने वचन त बोलिनँ ? त्यस्तो कुनै गल्ती भएको भए मैले संकेत पाउनुपर्ने हो । प्रत्यक्ष रुपमा त त्यस्तो पनि केही देखिँदैन । उनी मसित रिसाए जस्तो पनि लाग्दैन । आखिर कुरो के होला त ? मनमा यस्तै अनेक कुरा खेलाउँदै दिक्दारीमै उनको दिन बित्यो ।

सधैं जस्तै आज पनि श्रीमान्को पर्खाइमा उर्मीका आँखा टट्टाइसके । नचाहँदा नचाहँदै पनि श्रीमान्उपर शंका लाग्न थाल्यो । केही समय यतादेखि उनले आफूबिचको निश्चल प्रेम र विश्वासले सिञ्चन गरी मौलाउँदै गएको दामपत्य जीवनरुपी वृक्ष ओइलाउँदै गरेको अनुभूति गरिरहेकी छिन् । कहीँ यो वृक्ष साँच्चिकै सुकेर जाने त होइन ? भनेर मनमा त्रास बढ्दै गएको छ । आफूउपर श्रीमान्को आकर्षण र सम्मोह धमिलिँदै पातलिँदै गएकाले पनि उनको मनमा यस्तो शंका उब्जिएको हो । एक मनले प्रेमका वाचाहरु टुटी विश्वास डग्मगाउने हैन भन्ने प्रश्न गर्छ भने अर्को मनले यस्तो हुनै सक्दैन भनी आश्वस्त पार्छ । तैपनि चञ्चल मन बहकिँदै बेचैन भइरहन्छ ।

श्रीमान्को चौतर्फी सफलतामा उर्मी हर्ष मिश्रित गर्व गर्छिन । अति तीक्ष्ण बुद्धि, समाज सुधार र देशका बारेमा अति चिन्तित रहने तथा सदैब मेहनत र लगनशीलताले होला, उनका पतिले जुन क्षेत्रमा हात हाल्छन् त्यसमा सफलता नै प्राप्त गर्छन । उनले नजानेको भन्ने पनि केही छैन । बौद्धिक क्षेत्र त छँदै छ । त्यसबाहेक पाककला, बुन्ने र कात्ने जस्ता क्षेत्रमा पनि उनको दखल भएको देखेर अनि सबैले उनको मात्र प्रशंसा गरेको देख्दा कहिलेकाहीँ त उर्मीलाई आफू हेपिएको, घरमा आफ्नो कुनै मूल्य, मान्यता र अस्तित्व नै नरहेको जस्तो भान हुन्छ । कता कता जलन पनि हुन्छ । फेरि सबैले आफ्नो प्राणप्याराको तारिफ गर्दा, यस्तो प्रशंसनीय व्यक्तिकी श्रीमती हुन पाएकोमा अहोभाग्य ठानी खुसी पनि लाग्छ ।

यी सब गुणका बाबजुद उनका पतिमा एउटा हठी स्वभावको अवगुण पनि छ । उनीबाट रिसाएर कुनै काम लिउँला भनी सोच्नु पर्दैन । बरु नम्र र मायालु बोलीले अनुरोध गरे जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् । श्रीमती र छोराछोरीलाई अति माया गर्छन् । फुर्सदको समयमा मिठा मिठा परिकार बनाई परिवारलाई आफ्नै हातले खुवाएपछि मात्र उनलाई सन्तोष लाग्छ । आय आर्जनका लागि पनि त्यत्तिकै खट्छन । घरमा सबै सुख सुविधा मिलाएका छन् । उर्मीलाई यस खालका कुनै कुराको कमी र गुनासो छैन ।

समाजमा उनका पतिको ठुलो इज्जत छ । यति हुँदाहुँदै पनि उर्मीमा भने असन्तोष, अपुग, असामञ्जस्य र खिन्नता व्याप्त छ । भौतिक सुखको अभावमा असन्तुष्ट भएको हैन उनको मन । मानसिक सुखको अपेक्षा राख्दै बेला बेलामा रन्थनिन्छिन् । उनी आफूलाई हाडमासुले बनेको एउटा जिउँदोजाग्दो कठपुतली ठान्छिन्, जसलाई जता घुमायो उतै घुम्ने, जसो–जसो गर भन्यो उसै–उसै गर्ने । कुनै संवेदना, भावना र चाहना नै नभएको निर्जीव लास जस्तो । माया गरे जस्तो लागे पनि कता कता श्रीमान्को रुखो व्यवहारले उपेक्षित र अपमानित भएको जस्तो लाग्छ उनलाई । कारण खोतल्दै गरे पनि सही उत्तर नपाउँदा मनमा खल्लो लाग्छ । मन बैरागिन्छ । केही समयदेखि यत उनी अप्रत्यक्ष रुपमा श्रीमान्ले उपेक्षित व्यवहार गरेको अवस्थाको सामना गर्दै थिइन् । श्रीमान्ले कुनै व्यस्तताले यस्तो गरेका होलान् भनी उनी मन बुझाउन खोज्छिन तर मन मान्दैन ।

आलस्य मान्दै उर्मीले घडीतिर नजर पु¥याइन् । सुईले रातको बाह्र पनि पार गरिसकेको रहेछ । बेला–बेलामा रातको सन्नाटा चिर्दै कुकुर भुकेको आवाज आइरहेको छ । एक्लै टि.भी. कति हेर्नु । कहिलेकाहीँ त वाक्क लाग्छ । मन बेचैन भएको बेला जस्तोसुकै राम्रो प्रोगाम पनि खल्लो लाग्दो रहेछ ।

उर्मीको ध्यान फेरि श्रीमान्तिरै जान्छ । मनमा प्रश्न उठ्छ—के साँच्चै नै सधैं यति रातसम्म अफिसमा काम हुन्छ होला ? विहानदेखि आधा रातसम्म सधैं यत्तिकै खट्ने हो भने शरीरले पनि कति दिनसम्म थेग्न सक्ला र ? विरामी पर्लान् भन्ने डर । चिन्तित भई यसबारे श्रीमान्संग प्रश्न गर्न खोजे उनी जवाफ नै नदिई थकाइ लागेको छ भनी अर्कैतिर फर्केर मस्त निदाइदिन्छन् । दिनभर मनमा कुरा गुन्दै आज त पक्कै यसबारे राम्रोसंग कुरा गर्छु भन्यो,उनी भने बेवास्ता गर्दै सुतिदिन्छन् । महिनौं भैसक्यो मनमा कुरा खेलाउँदै बेचैन भएको ।

प्रत्यक्ष बोलीचालीमा भन्दा पनि श्रीमान्को व्यवहारमा उपेक्षित भएको महसुस गर्छिन् उर्मी । साधारण औपचारिकताका कुराबाहेक अरु कुरा हँुदैन । एउटै बिछ्यौनामा सँगसँगैसुते पनि महिनौं भैसक्यो—न प्रेमका मिठो कुरा नै हुन्छ, न त स्पर्श नै । नदीका दुई किनारा जस्तो टाढा–टाढा । कारण के होला त भनी सोच्दा सोच्दा थकित भइसकिन् ।

’आज त यसको सही जवाफ लिएरै छाड्छु’ भनी दृण भएर उर्मी बिछ्यौनाबाट उठिन् । लामो हाइ काढी आङ तन्काउँदै ऐनाअगाडि गई उभिइन् । आफूलाई गहिरिएर नियालिन् । उनका आँखा भित्तामा टाँगिएको विवाहको फोटोमा पुगेर अडिए । त्यस बेलाको र अहिलेको आफ्नो रुप र शारीरिक बनोटको तुलना गरिन् । आफै छक्क परिन् । कति फरक भैसकेछ । कहाँ त्यो कलिलो मुहार, सर्लक्क परेको त्यो शरीर अनि कहाँ आजको झोल्लिँदै गएको मुख र भद्दा बन्दै गएको शरीर । कति धेरै फेरिएछ रुप पनि । मुहारमा पनि प्रौढताका रेखाहरु लुक्न नसकी बाहिरै देखिन थालेछन् । एकछिन् त मन खिन्न भयो । फेरि सोचिन्—यो त प्रकृतिको नियम नै हो । समयअनुसार परिवर्तन त आइहाल्छ । सधैं एकनास कसको छ ? यसो हुनुबाट रोक्नु कसको बसमा छ र ? किन ब्यर्थै लघुताभास लिनु ?

फेरि ध्यान श्रीमान्तिर नै गयो । एक सफल व्यक्तित्व । समाजमा नाम छ । प्रतिष्ठा उस्तै छ । उनको व्यक्तित्वले तानिएर उनको छेउछाउमा कति सुन्दर सुन्दर पुतलीहरु झुम्मिन आउँछन् होला । पन्छिन खोजे पनि आकर्षित भई टाँसिन्छन् होला । के उनले संयम गर्दै आफूलाई सम्हाल्न सकेका होलान् ? उनका आँखामा तिनै सुन्दरीहरु नचिरहन्छन् कि ? मलाई तिनै सुन्दर पुतलीहरुसँग तुलना गरी कहीँ उनलाई वैराग्य लाग्न थालेको त होइन ? त्यसै भएर पो बोल्न पनि जाँगर नदेखाएका हुन् कि ? लोग्ने मानिस भनेका लोभी भमरा न हुन्, जता गुलियो उतै भुलियो । के थाहा ? यसरी उनी आफ्नो मनमा कुरा खेलाउँदै छट्पटिइरहन्छिन् ।

आधा रात बितेको छ तर उर्मीका आँखामा निद्रा छैन । उनलाई आज किन किन मध्य रात भए पनि शृङ्गार गर्न मन लाग्यो । उनले आफूलाई यत्नसाथ खुब सजाइन् । अत्तर छर्केर कोठा नै मगमग वासना आउने बनाइन् । आफूलाई शृङ्गार खुब सुहाएको जस्तो लाग्यो । ऐनामा हेरेर आफैं मख्ख परिन् । टि.भी. बन्द गरेर एक पुरानो गानाको क्यासेट लगाइन् । मन अति नै पुलकित, रोमाञ्चित र आतुर भैरहेथ्यो । प्रफुल्ल मन लिई बारम्वार पर्दा हटाउँदै बाहिर हेर्दै थिइन् । उनको प्रतीक्षाको घडी पनि समाप्त भयो । उनी मुस्कुराउँदै छिटो छिटो श्रीमान्लाई लिन ढोकासम्म पुगिन् । ढोका खुल्नासाथ कोठामा छर्केको अत्तरको वासना श्रीमान्को नाकमा ह्वास्स ठोक्किन पुग्यो । कोठाको वासना र मध्यरातमा उर्मीको त्यो असहज समयको शृङ्गार देखेर एकपल्ट त श्रीमान् झस्के । आज पहिलोचोटि उर्मीको यो बेग्लै रुप देख्दै थिए । अनौठो पाराले उर्मीतिर पुलुक्क हेरे । उनी मुस्कुराइरहेकी थिइन् । उनको त्यो अनौठो चाला देखेर पनि कुनै प्रतिक्रिया नै नदेखाई श्रीमान्ले चुपचाप कोठामा प्रवेश गरे । ढोका बन्द गरी उर्मी पछि पछि आइन् । बिस्तारै पछाडिबाट कोट फुकाल्न मद्दत गर्दै श्रीमान्सँग नजिकिन खोजिन् । तर उनको स्पर्श र सामीप्यको कुनै असर नपरे जस्तो गरी श्रीमान् टाढिन खोजे । हतार हतार बाथरुमतिर लम्के । उर्मीलाई थाहा थियो, पक्कै आज पनि खाना खाँदैनन् । सोध्नु बेकार हो । तर पनि आफूतिर ध्यान आकृष्ट गर्न नरम आबाजमा ’खाना तातो पार्छु है’ भनिन् । श्रीमान्ले हतार हतार भने— ’हैन हैन, आज खाना धेरै खाएँ, खान मन छैन । तिमी खाऊ न, म असाध्यै थाकेको पनि छु । आज चाँडै सुत्छु’ अनि बाथरुममा पसे । उर्मी खिन्न र दिक्क मन लिई त्यही कुर्सीमा थचक्क बसिन् । उनलाई खान मन पटक्कै लागेन । भान्छातिर जाँदा पनि गइनन् । श्रीमान् बाथरुमबाट निक्लनुअघि राती लगाउने लुगा फेरिन् र उनी पनि सुत्ने तरखर गर्न लागिन् ।

उनको मनमा द्वन्द्व चलिरहेथ्यो । उनले दृढ निश्चय गरिन्—आज म यो रुष्टता र दुरीको कारण पत्ता लगाई छाड्छु । के सबै व्यस्त मानिसहरुले श्रीमतीसँग यस्तै दुरी राख्छन् ? के यसरी नै मौन रहन्छन् ? मेरो केही गल्ती भए औँल्याउनुप¥यो । छलफल गरी सुधार्ने मौका दिनुप¥यो । यसरी तड्पाइरहने किन ? मनभित्रको अन्तरद्र्वन्द्वले होला, उनको मुहार  पनि रातो रातो भै रन्किरहेथ्यो । श्रीमान् बाथरुमबाट निक्लिए । उनले उर्मीको भाव पढेछन् । उनलाई लाग्यो सायद उर्मी चर्को आवेशमा छिन् र अनगिन्ती असन्तुष्टि बोकेर प्रश्नहरु गर्ने मनस्थितिमा छिन् । उर्मीलाई प्रश्न गर्ने मौका नै नदिई उनले भने, ’सरी, आज म अति नै थाकेको छु, सुत्छु है ।’ त्यसपछि अर्कोतिर फर्केर आफ्नोपट्टिको बत्ती निभाएर सुते ।

आज पनि उर्मीको मनको कुरा मनमै रह्यो । मन अति कुँडियो । एउटै बिछ्यौनामा सँगै सुते  पनि उर्मीलाई आफू र श्रीमान् विपरीत ध्रुबमा रहे जस्तै लाग्यो । कुनै सरोकार नभएको एक अपरिचितसँगको साथ जस्तो लाग्यो । श्रीमान्ले एकचोटि उर्मीतिर फर्केर ’तिमीले खाना खायौ ?’ भनी मायाका दुई शब्दसम्म बोल्न आवश्यक ठानेनन् । टसमस नगरी सुतिरहे ।

उर्मीले अपमानित भएको र हेपिएको महसुस गरिन् । मनभित्र अपमानका ज्वालाहरु द्यनदन बलिरहेका थिए । गर्मी भएर चिटचिट पसिना आयो । बिछ्यौनाबाट जुरुक्क उठिन् र बाथरुम पसिन् । धेरै बेरसम्म शिरमा पानीको धारा थापेर शीतल पार्ने कोसिस गरिन् । बिस्तारै शिथिल भइन् । भित्री र वाहिरी जलन केही कम भयो । धेरै बेरसम्म त्यत्तिकै बसिरहिन् ।

उर्मीले भिजेका लुगा फेरिन् र आएर बिछ्यौनामा पल्टिन् । एक नजर श्रीमान्तिर फ्याँकिन् । उनी उर्मीको मनोदशादेखि बेखबर साँच्चिकै मस्तसँग निदाइरहेथे । उर्मीको आँखामा पटक्कै निद्रा थिएन । मन बेचैन थियो । मनमा अनेक कुराहरु आउने जाने गर्दै थिए । समय समयमा हितैषीहरुले उनलाई श्रीमान्का बारेमा सतर्क रहन सुझाव दिएका पनि हुन् । अप्रिय संकेत पनि गरेका हुन् । तर उनको आँखामा श्रीमान्को माया र विश्वासको जालो बाक्लो थियो । त्यसैले उनलाई हितैषीहरुका जम्मै संकेत वाहियात र फजुल लागेका थिए । त्यसैले नै उनले यस्ता कुरामा पटक्कै ध्यान दिएकी थिइनन् । जस्तै सुन्दरीहरुका माझमा रहे पनि आफ्ना श्रीमान् डग्मगाउँदैनन् भन्ने उनलाई थियो । पतिले कसैप्रति गलत दृष्टिले हेर्दैनन् र म बाहेक अरुसँग उनको मन रिझिँदैन भन्ने विश्वास उनलाई थियो ।

तर आज उर्मीलाई लाग्यो उनका हितैषीहरु गलत छैनन् । आज ती कुराहरु वारम्बर कानमा गुन्जन थाले । पतिको प्रेम उनको आफ्नै पि.ए. सँग बसेको छ भन्ने कुरामा उनले विश्वास गरेकी थिइनन् त। त्यो कुरा उनलाई साँचो लाग्दै थियो । कतै आगो नबली धुवाँ निस्क्दैन भने झैं कुनै प्रमाण नपाएसम्म त्यत्तिकै कसैले मुख फोर्दैनन् होला । त्यत्तिकै दोष लगाउँदैनन् होला । खानपिन, प्रेमालाप सबै उतै सक्छन् होला पतिले । अनि केवल बास बस्न मात्र या भनौं सबैको आँखामा छारो हाल्न मात्र यो घरमा आउँदा रहेछन् । यो कुरा अब पक्कापक्की भयो । नत्र यत्रो दिनसम्म किन अपरिचित जस्तो व्यवहार गर्दै छन् । शंकाको अन्तद्र्वन्द्व र मनमा बेचैनी चल्दाचल्दै उर्मी कति बेला निदाइन्, थाहै भएन ।

बिहानीपख मायाले कपाल सुम्सुम्यउँदै र चुम्बन गर्दै उर्मीलाई श्रीमान्ले बिउँझाए र भने — ’गुड मोर्निङ ।’ उर्मीले बिस्तारै आँखा खोलिन् । हिजो रातिको मनको अन्तद्र्वन्द्व अझै बाँकी थियो । उराठ उराठ र कता कता मुटुमा चसचस दुख्दै थियो । पतिले चुम्बन गरेको कुरा सपना जस्तो लागेर आँखा झपक्क झपक्क पारिन् । सपना हो कि बिपना भनेर छक्क परेर हेर्दै थिइन् । हातमा लिएको बुके उनीतिर बढाउँदै श्रीमान्ले भने—’ह्याप्पी एनभरसरी प्यारी ।’ उनी मुस्कुराइरहेका थिए । एउटा रातो बट्टाबाट हिराको सुन्दर हार निकाली लगाइदिंदै पतिले भने—,’मेरो सरप्राइज कस्तो लाग्यो ?’ अनि हाँस्दै आँखा झिम्क्याए । उर्मीले त शंकैशंकाको घेरामा परी यो शुभ दिन नै भुलेकी थिइन् । उनी झसंंग भइन् । उनको मनको कालोमैलो एकाएक सबै एकै क्षणमा पखालियो । कञ्चन बनिन्, प्रफुल्ल भइन् । हतार–हतार उठिन् र श्रीमान्को अँगालोमा धेरै बेरसम्म बाँधिइन् ।

उर्मीले आफ्नो बारेमा शंका गर्दै छे भन्ने चाल पाएर श्रीमतीको शंका निवारण गर्न र फकाउन चालिएको श्रीमान्को न यने कुटिल चाल थियो वा साँच्चिकै प्रेम भावना, त्यो त उनै जानून् तर उर्मी आज ज्यादै खुशी थिइन् । आइमाईहरुको यो स्वभाव भनौं या कमजोरी । श्रीमान्को मायालु बोली र स्पर्शमा उसका जस्तासुकै गल्तीहरु पनि बिर्सिदिन्छन् । आफूले भोगेका दुःख र मनोबेदना सबै भुलेर क्षणभरमै समर्पित भैदिन्छन् । यही कमजोरी र स्वभावको फाइदा पुरुषहरुले उठाउँछन् सायद ।

प्रसन्नताले रसाएका उर्मीका नयन श्रीमान्को मुहारमा एकोहोरो अडिएका थिए । मनभित्रको अन्तद्र्वन्द्वको रन्थनमा उनलाई यत्रो शुभ दिन पनि याद रहेन । मन अमिलो भयो । श्रीमान्को अगाडि अब के बहाना बनाउने ? के भनेर सफाइ दिने ? मेरो बारेमा के साच्दै होलान् ? यस्तो सोचेर उनलाई अप्ठ्यारो पनि लाग्यो । लाज मानेर केवल मुस्कुराइरहिन् । श्रीमान्ले ’चिया सेलायो, लौ’ भनी कप थमाए । दुबै जना मुस्कुराउँदै एकअर्कालाई हेर्दै चिया पिउन थाले ।