चारु कथा संग्रह—एक्लौटी माया

चारु कथा संग्रह–एक्लौटी माया

कथाकार –सुशीला देउजा

सामाजिक परिवेशको कथा संग्रह

बाँकी भाग

आमाले किन त्यत्रो कदम चाल्नुभयो ? के मेरो माया नै लागेन उहाँलाई ? आफ्नो नाबालक सन्तान पनि त्याग्नुपर्ने त्यस्तो बाध्यता के प¥यो होला ? खास कारण के होला ? मथिङ्गल खियाएर कति साचें तर तथ्यसत्य कुरा थाहा पाउन सकिनँ । त्यस घटनाले अत्यन्त दुःखी र विक्षिप्त हुनुभएका बुबा लामो समयसम्म घरै आउनुभएन । धेरै समयपछि घर आउनुभएका बुबाको उदासी र एकाकीपनले घरमा सबैलाई चिन्तित तुल्यायो । दुःखसुखमा साथ दिने एउटा साथीविना छोराले जिन्दगी कसरी बिताउलान् ? भनी हजुर आमा पीडा पोख्नुहुन्थ्यो । आखिर परिवारका सबैले बुबाका लागि केटी रोजे र विवाह गर्न कर गरे । बुबा पनि एक्लो जीवनले आजित हुनुभएको रहेछ, विवाह गर्न राजी हुनुभयो । त्यस बेला मलाई कस्तो लागिरहेछ र म के सोच्दै छु भन्ने बारेमा न कसैले सोचे, न यस कुरालाई कुनै महत्व नै दिए । घरको कुनामा फ्याँकिएको एक निर्जीब, मूल्यविहीन वस्तु सरह थिंएँ म । उमेर सानै भए पनि आफ्नो भविष्यबारे सोचेर बस्थेंं । बुबाबाट पाउँदै आएको अलिकति माया पनि अब बाँडिने र टाढा हुने भयो भनी मन खिन्न भयो ।

अलि बढी डराउने, लजाउने र खुलेर बोल्न नसक्ने, कसैसंग झ्याम्मिन नसक्ने बानी छ मेरो । सानैदेखि मनमा कुरा दबाउँदै बस्ने बानीले गर्दा यस्तो भएको हो कि । अब त झन् यो बानी बढ्दै गयो । नयाँ आमाले जति कोसिस गरे पनि किन किन म उहाँसंग नजिकिन नै सकिनँ । मलाई त्यसै त्यसै अप्ठ्यारो लाग्थ्यो । साच्चिकै भन्ने हो भने म कसैसंग पनि मनका कुरा खुलेर ब्यक्त गर्न सक्दिनँथें । आजसम्म पनि कसैसंग खुलेर कुरा गरेको छैनँ । चुपचाप एक्लै गुमसुम बस्ने बानी नै परिसक्यो । त्यसैले हँसिलो रिसलो पहिलो नजरमै आँखामा आइहाल्ने, हुने त प्रश्न नै भएन । मेरो चाहना पनि कसैले राख्दैनथें । बरु अप्रिय वस्तुसंग बारम्वार सामना गर्नुपरे जस्तो झिँझो मान्दा हुन् उनीहरु ।

खान लाउनको दुःख थिएन । बाहिरी सुख सुविधाको कमी नभए पनि अन्तर्मनको सुख र अभाव खट्किरहन्थ्यो । जीवन सधैं अधुरो अपुरो लाग्थ्यो । एक्लौटी मायाको भोको म । कर्तव्यको र सहानुभूतिको होइन, अधिकारको माया चाहन्थें । आमाको मायाको  अभावपूर्ति गर्ने एउटा माध्यम चाहन्थें जसले मेरो बारेमा मात्र सोचोस् र मलाई मात्र माया गरोस् ।

म पढाइ सकेर काममा पनि लागिसकेको थिएँ । जीवनको आँगनमा जवानीले बिस्तारै पाइला टेक्दै थियो । मन एउटा जीवन साथीको अभाव महसुस गर्दै थियो । तर मेरो चाहनाले मात्र के हुन सक्थ्यो र । मलाई पनि मन पराउने कोही चाहिन्थ्यो । एकतर्फी चाहले मात्र जीवनको गाडी अघि बढ्न सक्दैनथ्यो । म निराशावादी र गम्भीर प्रकृतिको युवक, मलाई हतपत कसले पो मन पराउँथ्यो र । म खुलेर कसैलाई प्रेम प्रस्ताव राख्न पनि सक्दिनथें । झ्वाट्ट हेर्दा आँखामा आइलाग्ने न मेरो रुप थियो न ब्यक्तित्व र न केटी फकाउन जान्ने कला नै । मलाई कसैले पत्याउलान् वा मन पराउलान् भन्ने विश्वास पनि थिएन ।

तर आश्चर्य, मलाई मन पराउने पनि रहेछन् यस संसारमा । मैले उनलाई देखेको छैनँ ।  परिवारले नै कुरा अघि बढाएको । हेर्दा कस्ती होलिन् भन्ने सोचेको पनि छैनँ । बरु मलाई मन पराएको रे भन्दा मनमनै कृतज्ञ भएँ, नत मस्तक भएँ । अपार खुशी महसुस गरें । आजै होला, जीवनमा पहिलोचोटि मलाई यति धेरै खुशी र रमाइलो लागेको । आहा ! कोही मेरो जीवनमा खुशी र एक्लोटी माया लिएर आउँदै छ । भेटमा मैले उनलाई मन पराउन्नँ कि भन्ने उनको परिवारलाई शंका रहेछ । मलाई उनको बाहिरी रुपभन्दा पनि उनको सुन्दर मनसंग प्रेम भईसकेको थियो । एक झलक नदेख्दै मैले उनलाई मन सुम्पिसकेको थिएँ । उनीबाहेक अब मेरो हृदयमा कोही थिएन । मेरो मनको सिंहासनमा उनलाई विराजमान गराइसकेको थिएँ । अचम्म लाग्छ, कसैको प्रेमले जीवनमा यति खुशी पनि ल्याउँदो रहेछ भन्ने कुरा आज आएर बुझें, अनुभव गरें । किताब र सिनेमामा देखाइएका प्रेमकथाहरु मलाई वाहियात लाग्थे, कोरा काल्पनिक लाग्थे, यथार्थमा हुनै नसक्ने र असम्भव जस्ता लाग्थे । चर आज सच्चा लागिरहेछन । भोली उनलाई भेट्न जाने कुरा पक्कापक्की भएको छ । उनीसंगको सुःखद भेटको कल्पनामा आनन्दित हुँदै मैले आजको रात अनिँदोमै बिताएको छु ।