चारु कथा संग्रह —एक्लौटी माया

कथाकार –सुशीला देउजा

सामाजिक परिवेशको कथा संग्रह

एक्लौटी माया

जहिलेदेखि होस सम्हालें या भनूँ बुझ्न सक्ने भएँ, संसारमा आफूलाई एक्लो र हेलामा हेलिएको पाएँ, उभ्रेको मायामा चित्त बुझाउँदै । उसो त आ–आफ्नो ठाँउमा सबैको उपस्थिति थियो । नातामा अपुग पनि थिएन । तर थिए मेरो हृदयदेखि पर पर । नजिकिने आशा पनि मारिसकें । एक्लौटी मायाको भोको म, सायद मेरो भाग्यमा त्यो थिएन । भाग्यमा भएको भए माया मबाट विनाकारण वञ्चित हुने थिएन र मलाई यसरी कल्पाउँदैनथ्यो होला । भवितव्यले मेरो माया हरेको होइन । मेरै कारणले पनि माया टाढा भएको होइन । कारण के होला ? बाल मस्तिष्कमा जोड दिई दिई सोच्दथें । कारण पत्ता लगाउन घरका सदस्यहरुसित प्रश्न गरें, कसैले पनि वास्तविक कारण बुझाउँदै मेरो मनलाई सान्त्वना दिने कोसिस गरेनन् वा आवश्यक नै ठानेनन् । कहीं उनीहरु मलाई अबुझ र सोच्न नसक्ने अबोध बालक पो सम्झन्थे कि ? मेरो मनमा चर्को द्वन्द्व चल्थ्यो, मन छट्पटिन्थ्यो तर कसैलाई पनि मेरो पिरका बारेमा कुनै सरोकार थिएन । कसैले गहिरिएर ध्यान पनि दिएनन् । भित्रभिै जल्दै म एकान्तप्रिय भई गुमसुम बस्न थालें । मेरो मनस्थितिबारे सोच्ने न कसैलाई फुर्सद थियो, न चासो । कहिलेकाहीं लाग्थ्यो, कहीं म त्यस्तो हृदयविहीन यन्त्र मानव त होइन जसमा मायामोहको संवेदना नै छैन ? जसको हृदयलाई गम्भीर कुराले पनि छँुदैन मलाई आफैंमाथि शंका लाग्न थाल्थ्यो । मेरो लागि निश्छल र चोखो हुनुपर्ने माया धमिलो पानीमा माछा मार्दै बिटुलियो ।

      काकाका छोराछारी, जो मेरै उमेरका थिए, उनीहरुलाई आफ्ना बाबुआमाको एक्लौटी मायामा डुबुल्की मारेको देख्दा मलाई रहर लाग्थ्यो र मनैमन कल्पिन्थें । बाबुआमामाथि अधिकार जमाउँदै लाडिँदै फुर्किँदै जिद्दी गर्दै उनीहरु अनेक माग राख्थे । बाबुआमा पनि सम्भव भएसम्म उनीहरुका माग पुरा गर्ने कोसिस गर्थे । म भने टाढाबाट यी सब गतिविधि चुपचाप लोभिँदै निहारिरहन्थें । मनमा सोच्थेँ—मेरो साथमा पनि बुबाआमा भैदिएको भए म पनि निश्चिन्त भएर हाँसीखुशी हुन्थें हुँला, लाडिन्थें हुँला । मभित्र पनि त्यस्तै चञ्चलता र जिद्दीपन आउँथ्यो होला । म पनि फुर्किदैं आमाबाबासंग अनेक माग राख्थें हुँला ।

आफ्ना छोराछोरीको माग पुरा भएपछि काकालाई सायद मेरो याद आउँथ्यो । ’तँलाई पनि केही चाहिन्छ कि ?’ भनी सोधेर औपचारिकता निर्वाह गर्नुहुन्थ्यो । काकाले गर्नुभएको प्रश्न र मप्रति देखाउनुभएको चासो छेउमै भएका भाइहरुलाई मन पर्दैनथ्यो सायद । त्यसैले त्यतिखेर उनीहरु मलाई आँखा तर्दै हेर्थे । सायद उनीहरुलाई मैले उनीहरुले पाउनुपर्ने माया र अधिकार खोस्दै छु भन्ने लाग्थ्यो । उनीहरुको कटु दृष्टिको सामना गर्दै र आफ्ना इच्छा र आकांक्षा मनमा दबाउँदै म ’केही चाहिँदैन’ भनिदिन्र्थे ।

त्यसो त मलाई खान लाउनको दुःख थिएन । हजुर आमाले मेरो आवश्यकता पुरा गरिदिनुभएकै थियो चाहनाअनुरुप नभए तापनि । आफुसंग जे छैन, मानिसलाई त्यहि चिजको बढी चाहना हुँदो रहेछ । बाबुआमा साथमा हुनेले सायदै यो अभाव र महत्वको मर्म बुझ्लान् जुन मैले महसुस गरेको छु ।

बुबा सहरमा एक्लै हुनुभएकाले उहाँले मलाई हजुर आमाको जिम्मा लगाउनुभयो । हजुर आमाले भन्नुभएअनुसार म यस्तै तीन वर्षको थिएँ रे । आमाले बाबालाई धोका दिनुभएछ र मलाई ए्क्लै छाडेर टुहुरो बनाइ अरुसंगै जानुभएछ । त्यस समयमा बुबा सुखी जीवन बिताउने अभिलाषाले पैसा कमाउन भनी बिदेसिनुभएको थियो रे । बुबा विदेशमा रहेको बेलामा आमाले त्यस्तो अकल्पनीय कदम चालेको थाहा पाउँदा बुबाको हृदयमा कत्रो चोट प¥यो होला । उहाँले कति अपमानित भएको अनुभूति गर्नुभयो होला । कति लज्जाबोध गर्नुभयो होला । जसको खुशीका लागि उहाँ त्यत्रो दुःख गर्दै परदेशमा काम गर्दै हुनुहुन्थ्यो उसैले धोका दिएको कुरा थाहा पाउँदा उहाँ कति मर्माहत हुनुभयो होला । लोग्ने मानिसका लागि यो अत्यन्त अपमानजनक विषय हो । यस अपमानको घाउ कहिल्यै पुरिँदैन । सायद ममा पनि धोकेबाज श्रीमतीको छवि देख्नुभएर पो हो, बुबा मसंग टाढा टाढा हुनुभएको थियो । मेरो वास्ता गर्न छाडनुभएको थियो ।  भाग–१,, क्रमश