चारु कथा संग्रह

कथाकार –सुशीला देउजा

सामाजिक परिवेशको कथा संग्रह

 

अघिल्लो कथाको बाँकी भाग

घरमा चारुका वारेमा ध्यान दिने र उसलाई बढी माया गर्ने व्यक्ति भने उही थियो । बाहिर साथीहरुलाई पनि ’यो को हो थाहा छ ? मेरो बहिनी, यसलाई कसैले नराम्रो दृष्टि लगायौ भने थाहा छैन त्यसको परिणाम के हुन्छ’ भनी थर्काउँथ्यो । साथीहरु उसकी वहिनी भनेर चारुलाई मान गर्थे । हर्षित चारु दाइको सुरक्षामा निर्धक्क थिइन् । दाइले जहाँ जाऊँ भने पनि निर्धक्क भई जान्थिन् । दाइको माया र सुरक्षा पाएर चारु ज्यादै खुसी थिइन् । तर उनको यो खुसीको पल धेरै दिन टिक्न सकेन । उसले पहिले नै योजना बनाएको रहेछ खराब नियतले । एक दिन अलि टाढा घुमाउन लग्यो । उसमाथिको विश्वासमा निश्चिन्त हिँडेकी चारुको जीवनमा ठुलो बज्रपात भयो । कल्पनाभन्दा वाहिरको कुरा उसले भोग्नुप¥यो । पहिलेदेखि नै उसले चारुमाथि कुदृष्टि राख्दै आएको रहेछ । ऊ मौकाको ताकमा पो रहेछ । अकस्मात बाघको पञ्जामा परेकी कलिली निर्दोष मृग जस्ती चारुले उम्कने मौका नै पाइनन् । उनको सर्वस्व लुटियो । यति भएर नपुगी उसले चारुलाई चक्कु देखाएर नराम्रोसंग थर्कायो—’यो कुरा कसैलाई भनिस् भने तँलाई मारिदिन्छु, बुझिस् ?’ भन्यो । सपना हो कि विपना, ठम्याउने स्थितिमा नरहेकी चारु थरर काम्दै शारीरिक र मानसिक पीडाले थिलोथिलो भइन् । मनका पीडा कसैसामु पोख्न सकिनन् । उसका घृणित कर्तुत मनभित्रै लुकाउँदा लुकाउँदा मानसिक रोगी जस्तै भइन् उनी । उनलाई आफ्नै जीवन बोझ लाग्न थाल्यो । कसैसंग बोल्न पनि मन लागेन । उनी चुपचाप कोठमा गुम्सिएर बस्न थालिन् ।

मनको डाहा र छटपटीमा एक्लिएकी चारु अब त कुनै साथी बनाउन  पनि डराउँछिन् । कसैका अगाडि बसी कुरा गर्दा पनि उनको मन तर्सिन्छ । कहीँ सामुन्नेको मान्छेले मनका सबै रहस्य थाहा पाउँछ कि ? केही गरी थाहा पायो भने ? त्यस परिस्थितिको सामना कसरी गर्ने ? उनीहरुसांग आँखा कसरी जुधाउने ? यस्तो सम्झेर मात्र पनि उनको मनमा भुइँचालो जान्छ । हातखुट्टा लगलग काम्न थाल्छन् । घरमा एक्लै बस्दा घटना फेरि दोहोरिन्छ कि भनी भयले मन अत्तालिन्छ । मुटु त्यसै त्यसै जोड जोडले ढुकढुक गर्छ । घर भित्र नै सुरक्षित नभएपछि एक नाबालिग बालिकाले कहाँ गई आश्रय लिने ? कसले सुरक्षा दिने ? यस्ता कहाली लाग्दा परिस्थितिले गर्दा निश्चिन्त भई रमाइलो गर्नु पर्ने किशोरावस्था तनाव र बोझमा बित्दै जान थाल्यो । कोठमा बस्दा पनि भित्रबाट ढोकामा चुकुल लगाएर एक्लै बस्न थालिन् ।

चारुलाई सधैंजसो कोठाभित्रै गुमसुम भई बस्न थालेको देखेर एक दिन हजुरआमाले माया गरी सोध्नुभयो— ’के भो ? किन अँध्यारो छ नानी अचेल तेरो मुख ?’ उहाँले एक्लै राखी आफ्नो मनका सारा कुरा खुलस्त पार्न प्रोत्साहित पनि गर्नुभयो । तर यो यस्तो अप्ठेरो विषय थियो । आफुसँग बितेको घटनाका बारेमा भन्ने आँट नै भएन उनलाई । उनलाई लाग्यो यो घिनलाग्दो कुरा हो । यस्तो घिनलाग्दो कुरा शब्दमा व्यक्त गर्नु उचित छैन । भनिहाले पनि पत्याउँछन् कि पत्याउँदैनन् के थाहा ? सबै कुरा खुलस्त भनिदिए घरमा तहल्का मच्चिएर उल्टै आफूलाई नै दोषी ठह¥याए भने ? जीवनभरका लागि पछुतो पो हुने हो कि । फेरि उसले चक्कु देखाएर थर्काएको थियो । त्यस्तो दुष्टको के भर ? साँच्चिकै मार्ने पो हो कि ? उनको किशोर मनमा यस्ता अनेक कुरा खेल्छन् । उनी दुविधा र डरले भित्रभित्रै गलित र थकित हुन्छिन् । कतिपल्ट उसको सामुन्ने पर्दा उससित आँखा जुधे । उसको अनुहारमा लाज, सरम, पछुतो र ग्लानिका कुनै भावहरु चारुले देखिनन् । उल्टै विजयी मुस्कान देखिन् । उसमा चारुले आनन्द मानी स्वीकार गरेकी हो कि भन्ने भ्रम उसलाई परेको त हैन ? बाबुआमाले जाने बेलामा आफूभन्दा ठुलालाई आदर गर्दै भनेको मान्नुपर्छ भन्ने सिकाएका थिए । आँखा चिम्ली कसैमाथि विश्वास नगर्नू, बेलामा सतर्क हुनू, उमेरलाई हैन व्यवहारलाई आदर गर्नू भन्ने पाठ चाहिँ कहिल्यै पढाएनन् । हुनत आफ्नो घरका सदस्यलाई विश्वास नगरे कसलाई गर्ने ?

सुरु सुरुमा चारुको विश्वास जित्न उसले चारुलाई माया गर्दै सुरक्षा दियो । एक्लिएकी चारु पनि हर्षित भइन् । दाजु भन्नेमाथि विश्वास गरिन् । उसको व्यवहारले निर्धक्क भइन् । तर उनी उसको योजनादेखि बेखबर थिइन् । यसको नराम्रो परिणाम उनले भोग्नु प¥यो ।

आफ्नो कुनै गल्ती नहुँदा पनि चुपचाप दुःख र ग्लानिको पछ्यौरा ओढेर चारु एक्लै रोइरहिन् । छटपटी बढेको समयमा आत्माहत्या गरुँ कि भन्ने पनि सोच्थिन् । डग्मगाएको भावनाले उनको किशोरावस्था तहसनहस भयो । मौन रहनु पनि कुनै शोषणको डर लाग्दो घटनाको परिणाम हो भन्ने कुरामा कसैले विचार गरेनन् । हुन सक्छ कसैलाई यस्तो अकल्पनीय अनैतिक कुरामा अनुमान नै थिएन । यस्तो कुरा कसैले सोच्न पनि सकेनन् होला ।

चारुका कति साथीहरु निश्चिन्त र निस्फिक्री भएर बाँचेको आफ्नो बाल्यावस्थाका बारेमा बताउँछन् । आफ्नो सुन्दर र रमाइलो बाल्यकालका कुरा गर्छन्, रोमाञ्चक किशोरावस्था सम्झँदै फेरि त्यही जीवनमा जान पाए हुन्थ्यो भन्छन । उनीहरु आफ्नो रमाइलो बाल्यकाल र किशोरावस्था सम्झेर रमाउँछन्, कल्पिन्छन्, आनन्दित हुन्छन् । तर चारुलाई अतीतको यादले झन् त्रसित बनाउँछ । उनी सकेसम्म सबै कुरा बिर्सिन चाहन्छिन् ।  तर उनको मनमा गढेको छाप यति गाढा छ कि केहि गरे पनि मेटिँदैन । बेला बेलामा मन विचलित भई चिटचिट पसिना आउँछ । यी सब कुराका दोषी उनी आमाबाबुलाई देख्छिन् ।

’आमाबाबुले आफूसंगै लगेका भए आज यो दिन आउँदैनथ्यो होला । डर र त्रासमा नीरस जीवन भोग्दै न मर्नु न बाँच्नु त हुँदैनथ्यो । म पनि अरु जस्तै आत्म विश्वासले भरिएकी चञ्चल, हँसमुख भएर खुशीको संसारमा चरी झैं उडिरहेकी हुन्थेँ । जीवन कति रमाइलो हुन्थ्यो होला ।’ उनको मनमा बारम्बार यस्तै कुरा खेल्थे अनि त उनलाई बेचैनी हुन्थ्यो ।

धेरै दिनपछि उनका बाबुआमा घर फर्के । उनलाई खु्शी लाग्नुपर्ने हो तर त्यस्तो देखिएन । त्यस दुर्घटनाले उनी यति निराश भएकी थिइन् कि बाबुआमाको बास्ता गर्न पनि उनलाई मन लागेन । लामो समयपछि घर फर्किएका बाबुआमा भेट्दा पनि उनमा न कुनै उत्साह थियो, न कुनै उत्सुकता । न आफ्नोपनको आभास थियो, न खुशी र न त बह पोख्ने चाहना नै । त्यसैले बाबुआमा भेट्दा पनि उनले न त कुनै चासो देखाइन्, न कुनै प्रश्न नै गरिन् । एक अपरिचितले जस्तै हेरिन् र चुपचाप आफ्ना पाइला कोठमातर्फ बढाइन् । उनको अचम्मको व्यवहार देखेका आमाबा केही नबुझी उनी गएतिर हेर्दै थिए, छक्क परेर  ।