चारु, सामाजिक परिवेशको कथा संग्रह

चारु कथा संग्रह

कथाकार –सुशीला देउजा

एक्ली केटी खुल्ला ढुकुटी समान हुन्छे जसलाई जुन बेला पनि लुट्न सक्छ । आफ्ना साना साना छोराछोरी अरुको भरमा कहिल्यै छोड्नु हुँदैन । त्यसमा पनि छोरी भए त झन् प्रश्न नै उठ्दैन । यस्ता बुद्धिमानी र ज्ञानगुनका कुरा गर्दै सबैलाई अर्ती–उपदेश दिने मेरी आमा कसरी अर्काको भरमा मलाई छाडी लामो समय सम्म टाढा भइन् ? अर्कालाई अर्ती उपदेश दिनेले आफूले चाहिँ किन अवलम्बन गरिनन् ? किन ? के यिनी साँच्चिकै मलाई जन्म दिने आमा हुन त ? कहिँ अर्काको बच्चा ल्याएर मेरो भनेकी त हैनन् ? आफ्नो नै भए किन यस्तो सौतेलो व्यवहार ? के उनलाई मेरो माया र चिन्ता केहि लाग्दैन ? चारुको मनमा बारम्वार यस्तैयस्ता प्रश्नहरु उब्जिरहन्थे । तिनले चारुलाई बेचैन गराइरहन्थे ।

बाल्यकालको त्यो त्रासदीपूर्ण भोगाइ । बाबुआमा छँदाछँदै पनि अर्काको आश्रयमा एक अनाथको जस्तो जीवन बाँच्नुपरेको वेदना । बाल्यकालमा एक्लैले बेहोर्नुपरेका अनगिन्ती दुःखपीडाका क्षणहरु । चारुलाई त्ी पीडाका अनुभूतिको सम्झना बारम्बार भइरहन्छ र उनलाई बारम्बार उदास र त्रसित बनाइरहन्छ । अहिेले सम्झँदा मात्र पनि उनको जिउमा सिरिङ्ग भई काँडा उम्रन्छन् । आफ्नो त्यो भोगाइवारे न उनी कसैलाई भन्न सक्छिन्, न नभनेर त्यो मनबाट हटाउँदै मेटाउन नै सक्छिन् । बरु कोट्याएर घाउ झन् बल्झिए जस्तो लाग्छ । अतीतका ती कहाली लाग्दा भोगाइको कालो कुहिरो मनबाट हट्नुको साटो सम्झनाले झन् झन् बाक्लिँदै जान्छ । सफा कोरा कागज जस्तो कोमल बालमनमा लागेको घाउ कहिल्यै पुरिंदो रहेनछ ।

बाल्यकालमा नै मन नराम्रोसँग भाँच्चिएर हो कि के हो, अचेल उनलाई केहि पनि रमाइलो लाग्दैन । उनी संसारमा आफ्नो कोही नभएको र एक्लो भएको अनुभव गर्छिन् । उत्साह, उमंङ्ग, हौसाला केही नभएको नीरस नीरस जीवन । तर बोझ जस्तो लागे पनि जीवनको गाडी भने आफ्नो रफ्तारमा चलेकै छ । कसैको दुःखमा रोकिने र सुखमा दौडिने पनि त हैन रहेछ जीवन । जस्तै अप्ठ्यारो परिस्थितिमा पनि यो निरन्तर चलिरहेकै हुन्छ । आज उनको वाहिरी आवरण हेर्दा जीवन उज्यालो र रमाइलो जस्तो देखिए पनि भित्री हृदयको एक कुना सधैं त्रसित र अन्धकारमा डुबिरहन्छ । इच्छा र आकाँक्षा बाल्यकालमा नै मरिसकेको एउटा जिउँदो लाससरि जीवन घिस्रिँदै छ उनको ।

जागिरको सिलसिलामा बुबाको सरुवा दुर्गम दुर्गम जिल्लामा हुन्थ्यो । जान र आउन नै कयौं दिन लाग्ने । बुबाको रेखदेख र खानपिनका लागि आमा साथमा त जानै प¥यो । चारुको घर संयुक्त परिवारको थियो । हजुरआमा, काका, काकी, काकाका छोराछोरी सबै एकै घरमा वस्थे । सबैले ’चारुको चिन्ता लिनु पर्दैन । हामी छँदै छौं नि, बरु आफ्नो राम्रो ख्याल गनुर््ृ’ भनी सम्झउँथे । चारु स्कुल जान थालिसकेकी थिइन् । ’दुर्गम क्षेत्रमा गतिलो स्कुल पनि छैन होला । पढाइ बिग्रन्छ । किन लानुप¥यो ? यहीँ बसेर पढछे ।’ हजुरआमाले भन्नु भयो र फेरि थप्नुभयो— ’मसगैं बस्छे । पिर नगर ।’ चारुका आमाबुबालाई परिवारले भनेको कुरा उचित लाग्यो । जिल्ला जिल्ला घुमाउँदा पढाइले निरन्तरता नपाई ऊ बिग्रन सक्छे भन्ने सोची चारुलाई साथ लाने इच्छा हुँदाहँुदै पनि बाबुआमा काखको बच्चा च्यापी जिल्लातिर लागे । चारुलाई त्यहीँ छाडेर गए । बाबुआमासंगै जान्छु यहाँ एक्लै बस्दिनँ भनी चारु कति रोइन् । छोरीको भविष्य नबिग्रोस् भनी मुटुमाथि ढुङ्गा राखी छोरीलाई छोडेर जान बाबुआमा विवश भए ।

अरुको लाख आमाको काख भने झैं अरुले माया गरेको र आफ्नी आमाले गाली गरेकोमा आमाकै माया माथि हुन्छ भन्छन् । काकाकाकीहरुले केही दिनसम्म त उनलाई माया गरिटोपले, आफ्नो छोराछोरीलाई जस्तै गरे । बिस्तारै झन्झट मानी झर्कोफर्को गर्न थाले । आमाबाबुको काखमा लुट्पुटिएर निर्धक्क फुर्किने बानी परेकी चारु, अब अरुको टोकसोमा उदास हुँदै एक्लिँदै गइन् । हुन सक्छ चारुले पनि आफ्ना बाबुआमालाई झैं मान, सम्मान र माया दिन जानिनन् कि ? बिस्तारै बिस्तारै बोझ ठान्न थालेकाले उनीहरुले चारुको वास्ता गर्न छाडे । हजुर आमाको मायामा भने कुनै परिवर्तन आएको थिएन । उनी उस्तै मायालु थिइन् ।

काकाको एक्लो छोरो । त्यसमा घरका ठुला छोरो । चारुको दाइ पर्ने । फुर्किएर हो कि किन हो, अलि गुन्डा जस्तो थियो । पढ्नुगुन्नु छैन । साथीभाइ जम्मा ग¥यो, अनेक गफ दियो, चुरोट तान्यो, भनेको पुगेन भने घरमा रडाको मच्चायो । उसका बारेमा कसैले केही बोल्नै नहुने । घरै उचाल्ने गरी कराउने, धम्काउने । कसैको डर नभएको । बच्चैदेखि फुर्केर जित्नै पर्ने बानी परेको । उसले बोलेको कुरा पुग्नै पर्ने । अब अलि ठुलो भएको छोरो, बाबुआमा देखेर डराउनुको साटो बाबुआमा छोरा देखेर डराउँथे । बाबुआमा छोरालाई कडा शब्दमा केही भन्न सक्दैनथे । पढ्न पटक्क मन नभएको । बेला बेलामा सिनेमा खेलेर नाम कमाउँछु भनी सानोतिनो रोल पनि ग¥यो । तर उसको पाइला कहीँ टिक्दैनथ्यो । चिन्तामुक्त र निस्फिक्री भएर दिन बिताउँदै थियो ऊ ।  भाग–१  क्रमश