एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

साउन ८ काठमाडौं,

आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ को खेल तालिका सार्वजनिक भएको छ।

सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया बीच हुने छनोट प्रतियोगिताबाट विजेता हुने देशले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउनेछ।

भारत र पाकिस्तान समूह ए मा छन्। छनोटको विजेता पनि यसै समूहमा रहनेछ। यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन्।

समूह चरणका खेलहरु सेप्टेम्वर १५ देखि २० तथा सुपर ४ को खेलहरु सेप्टेम्वर २१ देखि २६ सम्म हुनेछ। फाइनल खेल सेप्टेम्वर २८ मा हुनेछ।

प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन्।

पछिल्लो पटक सन् २०१६ मा टी-२० फर्म्याटमा भएको एसिया कप यस पटक ओडिआई पर्म्याटमा हुँदैछ। भारत एसिया कपको साविक विजेता हो।

नेपालले खेल्न पाउला?
पहिलो पटक ओडिआई स्ट्याटस पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनोट प्रतियोगिता खेल्दैछ। जसमा ओडिआई नेशन युएई सँगै हङकङ, ओमान, सिंगापुर र मलेसिया नेपालको प्रतिस्पर्धी छन्। यी ५ टोलीको चुनौती पार लगाए नेपाल एसिया कपमा पुग्नेछ र टेष्ट नेशनसँग खेल्ने मौका पाउनेछ।

गत मार्चमा जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ शीर्ष तीनमा अटाउन सफल हुादै ओडिआई स्ट्याटस हात पारेको नेपाल हाल युके र नेदरल्याण्ड्स टुरमा छ। नेपालले जुलाई २९ मा लर्ड्समा ट्राई सिरिज र अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग उसैको मैदानमा ऐतिहासिक ओडिआई सिरिज खेल्दैछ।

स्राेत पहिलाे पाेष्ट डटकम