२३ वर्ष मुनिको नेपाली फुटबल टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने

साउन ४ काठमाडौं,  इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ ।
एसियाडमा सहभागि हुने २३ वर्ष मुनिको नेपाली टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाको प्रस्तावलाई थाइल्यान्ड फुटबल संघले स्वीकार गरेपछि नेपली टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र युनिभर्सिटी स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो ।

नेपाली टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । अहिले नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको अभ्यास गरिरहेको छ ।

एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । जसमा २३ बर्षमाथिका ३ खेलाडी राख्न पाउने व्यवस्था छ ।

यसपटक सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर रोहित चन्द र स्ट्राईकर भरत खवासलाई टोलीमा समावेश गरिएको छ ।

एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह ‘डी’ मा परेपनि प्रतियोगितामा सिरिया र प्यालेस्टाइनलाई पनि समावेश गर्नुपर्ने भएका कारण फेरी खेल तालिका सार्वजनिक गरिने एसियाड आयोजक कमिटिले जनाएको छ ।

एसियन गेम्सको १८ औं संस्करण यही भदौं २ गतेदेखि इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ ।