ए डिभिजन लिगको शीर्ष स्थानमा आर्मी

काठमाण्डाै मंसिर १०,  – सीएमजी सङ्कटा क्लवविरुद्ध गोलको बर्षा गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव पल्सर शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले सङ्कटालाई ५–१ को फराकिलो अन्तरमा हरायो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २ गोल गरे । त्यस्तै भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले १–१ गोल गरे । सङ्कटाका विदेशी खेलाडी म्याक्सवेल एलोनको नाममा एक गोल रह्यो । लिगमा तेस्रो जित दर्ता गरेको आर्मीको १० अंक भएको छ । सोही मैदानमा भएको अर्को खेलमा न्यूरोड टीम एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै रुस्लान थ्रीस्टार तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले ४ खेलबाट ९ अंक जोडेको छ । थ्रीस्टारको जितमा रन्जित धिमाल र अजयी मार्टिनले गोल गरे । आजै काठमाडौको हल्चोकस्थित एपीएफ मैदानमा नेपाल पुलिसले च्यासल युथ क्लवलाई २–० ले नै हरायो ।

पुलिसको जितमा रवि पासवान र भरत शाहले गोल गरे । आजको हारपछि समान ९ अंक भएपनि संकटा तालिकाको चौथो स्थानमा छ । एक खेल कम खेलेको सिग्नेचर मनाङ मस्र्याङ्दी ९ अंकमा तेस्रोमा छ । लिगमा भोलि बिग्रेड ब्वाईज र सरस्वती युथ क्लव तथा मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।