परराष्ट्रमन्त्री ज्ञवाली अर्जेन्टिना प्रस्थान गर्दै

काठमाडौं । ३ चैत,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बुधबार अर्जेन्टिना प्रस्थान गर्दैछन् । चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना गर्ने छलफलमा मन्त्री ज्ञवालीले प्रमुख वक्ताका रुपमा पनि भाग लिने कार्यक्रम छ ।

चैत ७ गते अर्जेण्टिनाका विदेशमन्त्रीले एशियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुनेछन् । त्यहाँ रहँदा उनले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी रहनेछन् । उनी चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ ।